सबै सामुदायिक आइसोलेसन बन्द

 झापा । झापाका सामुदायिक आइसोलेसन बन्द गरिएकाले कोरोना संक्रमित घरमै बस्नु परेको छ। पछिल्लो समयमा आएर कोरोना भाइरस सङ्क्रमितको संख्या घट्दै गएकाले झापाका सवै सामुदायिक आइसोलेसन तथा क्वारेन्टाइन बन्द गरिएका हुन् ।

गत वर्षको चैत महीनादेखि सञ्चालनमा ल्याइएका यस्ता आइसोलेसन र क्वारेन्टाइन अधिकांश विद्यालयहरूमा रहेका थिए। विद्यालय सञ्चालन गर्नु पर्ने भएकाले पनि त्यस्ता स्थानमा अघिल्लो महिनानै बन्द गरिएको थियो।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार तर अन्य केही सामाजिक संस्थामा आइसोलेसन सञ्चालनमा रहेको भए पनि होम आइसोलेसन उपयोगमा ल्याउने योजना सहित सवै सार्वजनिक तथा सामुदायिक केन्द्रहरू बन्द गरिएको हो।

महामारी एकहद सम्म नियन्त्रणमा आएको र आइसोलेसन तथा क्वारेन्टाइन रहेका भवनहरूमा नियमित कार्यसञ्चालन समेत हुने भएपछि संक्रमित हरूलाई घरैमा स्वास्थ्यलाभ गर्न प्रेरित गरिएको उनले जानकारी दिएका छन्।

जिल्लाका सुरुङ्गा र भद्रपुरमा रहेका पीसी आर परीक्षण ल्याब सञ्चालनमा रहेको र मेची अस्पतालमा आवश्यक उपचारको पनि व्यवस्था मिलाइएकाले हाल झापामा कोरोनाबाट त्रसित हुनु पर्ने अवस्था नरहेको उनले बताए।

स्वास्थ्य कार्यालय झापाका अनुसार सामुदायिक आइसोलेसन तथा क्वारेन्टाइन बन्द भएकै कारण हाल सक्रिय कोरोना संक्रमित घरैमा स्वास्थ्य लाभको क्रममा रहेका छन्। २३ पुष सम्ममा १ सय ६७ जना सक्रिय संक्रमित होम आइसोलेसन रहेका कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी