परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । 

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, कोभिड विरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका मन्त्री ज्ञवाली सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् ।  मन्त्री ज्ञवाली माघ ३ मा स्वदेश फर्कने कार्यक्रम छ । 

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना