मलेसियामा लागेकाे संकटकालले नेपाली व्यवसायी र कामदार प्रभावित

काठमाडाैं। कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएपछि मलेसियाले जारी गरेको संकटकाल घोषणाले नेपाली व्यवसायी र कामदार दुवै प्रभावित हुन पुगेका छन्। मलेसियाले आगामी अगस्टसम्म शर्तसहितको संकटकाल घोषणा गरेपछि नेपाली श्रमिकहरू त्यसको सोझाे मारमा परेका हुन्।

यसबाट नेपालमा वैदेशिक रोजगार व्यवसायको इजाजत प्राप्त झण्डै ४० प्रतिशत व्यवसायी प्रभावित भएको देखिएको छ।

उनीहरूले मलेसियाबाट ल्याउने एक लाखभन्दा बढी रोजगारी गुम्ने भएको छ। त्यसको प्रत्यक्ष असर नेपाली कामदार हुँदै रेमिट्यान्स आप्रवाहमा पनि देखिनेछ। 

परिस्थिति सहज हुँदै गएको खण्डमा यसअघि नै सङ्कटकालको घोषणा फिर्ता हुने भएपनि यसै भन्न सकिने अवस्था नरहेको भन्दै व्यवसायी चिन्तित भएका हुन्।

सोमबार रातिदेखि संकटकाल कार्यान्वयनमा आएपछि प्रमुख सडकहरूमा यातायात अवरोध गरिएको छ। नेपालीहरूको जमघट हुने प्रमुखस्थल कोतराय लगायतका क्षेत्र सुनसान भएको त्यहाँ कार्यरत नेपालीहरूले बताएका छन्। 

मलेसियाका प्रधानमन्त्री तान श्री मुहयुद्धीन यासिनले सङ्कटकालको अवधिमा कर्फ्यु आदेश जारी नगर्ने बताएका छन्। तर सडकहरू सुनसान बनेको बताइएको छ।

मलेसियाको राजधानी क्वालालम्पुर र प्रमुख प्रशासनिक क्षेत्र पुत्राजय सहित ६ राज्यमा कोरोनाको प्रकोप बढी देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

क्वालालम्पुर र पुत्राजया सहित जाहोर , मेलक्का , सेलोडगार , पेनाड , सबाह , लेबुनमा जनवरी २६ तारिखसम्म आवागमन नियन्त्रण आदेश (एमओसी) लागू गरिएको छ।

अन्य सम्बन्धित समाचार:  खोप लगाए पनि स्वास्थ्य मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह