काभ्रेमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल बन्ने

काभ्रे। बनेपा नगरपालिका-१० भैंसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माण प्रक्रिया थालिएको छ। यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (ईआइए) र ईआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ।

बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए। ‘भैंसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्,’  उनले भने।

उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ।

इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथा पाेर्टेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए। आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ।

अन्य सम्बन्धित समाचार:  बलिउड अभिनेत्री करिना कपूर दोस्रो पटक आमा बन्दै

‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (ईआइए) गर्नुपर्ने काम अघि बढाइएको हो।

स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। ‘बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो,’ उनले भने।

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो। बहुउद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डीपीआर बनाई काम शुरु गरिने जनाइएको छ। ‘नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौं,’ अध्यक्ष दाहालले भने।