शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ। यसैबीच बिहीवारबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । कोरोना भाइरसका कारण ९ महिनासम्म बन्द भएका सिनेमा हल गत महिनाको पुष १० गतेबाट सञ्चालनमा आए पनि निर्माताहरुले नयाँ फिल्म नदिँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका थिए । यो समयमा शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गरेका हुन्।

लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म हो। यस फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई कूल १२ सोज बाँडेको छ।

यो फिल्मलाई दिपेश सापकोटा निर्देशन गरेका छन् भने फिल्मका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् । यो फिल्मको अभिनयमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संयोग कोइराला, बसुन्धरा भुसाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला रहेका छन् । साथै यो फिल्मको १ घण्टा ३५ मिनेट लम्बाइ छ। यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यु गरेका छन्।

त्यसैगरी यशोदा राई र दिनेश दर्शनधारी निर्माता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन्। एक्सन लभस्टोरी जनरामा निर्मित यस फिल्मलाई विके फिल्मस्एफडी कम्पनीले देशभर वितरण गरेको छ।