पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी !

पेट्रोलियम

एजेन्सी। पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको छ। बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ।

नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको नवभारत टाइम्स खबरमा उल्लेख छ ।

पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए। मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ ।

सानो पाइपबाट दैनिक सयौँ लिटर डिजल चोरी भएको हुन सक्ने भारतीय आयल कर्पोरेशन (आईओसी) का अधिकारीहरूले आशङ्का गरेका छन्। पाइपबाट हरेक दिन हजारौँ लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ।

अन्य सम्बन्धित समाचार:  इक्वेटोरियल गिनीमा विस्फोट : मृत्यु हुनेकाे संख्या ९८ पुग्याे

झण्डै चार फीट तलको फाइप लाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो। चोरहरूले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै लकिङ सुविधा जडान गरेको पाइएको छ ।

गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो।