‘राजाको पुल’ पुननिर्माणः स्थानीयवासी खुशी

बागलुङ । संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने झोलुङ्गे (राजाको) पुल पुनःनिर्माण गरिएको छ। 

चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुङ्गे पुल अहिले पनि ‘राजाको पुल’ ले चिनिन्छ। वडा नं ५ का वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार सो झोलुङ्गे पुल विसं १९९० को दशकमा निर्माण गरिएको थियो। पुल पुनःनिर्माणका लागि गलकोट नगरपालिकाले गत आवमा रु नौ लाख बजेट विनियोजन गरेको थियो । अपुग रकम स्थानीयवासीबाट जुटाएर कूल रु १४ लाखको लागतमा पुलको पुनःनिर्माण गरिएको वडाध्यक्ष मल्लले बताए। “बन्दाबन्दीले गर्दा सामानको ढुवानी सहज थिएन, केही सामग्री पुरानै पुलका प्रयोग ग¥र्यौँ, केही यही बनायौँ, जसले गर्दा पुलको लागत पनि घट्यो”, उनले भने। 

झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर पुलको माथिको लठ्ठा पुरानै प्रयोग गरिएको छ। आधुनिक प्रविधि आउनुपूर्व स्थानीय कालिगढले आरानमा फलाम गालेर पुलका लागि साङ्ले लठ्ठा बनाउँथे। परम्परागत सीप र प्रविधिबाट बनेका पुल अहिले पनि गाउँबस्तीतिर देख्न पाइन्छ। ‘राजाको पुल’ पुनःनिर्माणपछि आउजाउ सहज बनेको छ। विद्यार्थीसहित सर्वसाधारण गरी दैनिक सयौँ जना पुल वारपार गर्छन्। अस्तित्व सङ्कटबाट गुज्रेको पुलले पुनःनिर्माणपछि मुहार फेरेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । “पुल एकदमै जीर्ण थियो, हामी आएपछि वर्षेनी मर्मतसुधार गर्दै आएका थियौँ”, उनले भने, “अहिले नगरपालिकाकै मुख्य लगानीमा पुल पुनःनिर्माण गरिएको छ।” उनले इतिहाससँग जोडिएकाले पनि उक्त पुलको संरक्षण गर्नु नगरपालिकाको दायित्व हुने उल्लेख गरे । नगरप्रमुख गैरेले आफू सानो छँदैबाट उक्त पुललाई ‘राजाको पुल’ भनेर चिन्ने गरेको सुनाए। स्थानीय सीप, स्रोत र साधानको परिचालनका कारण पुलको पुनःनिर्माण समयमै सकिएको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  १७ वर्षीया किशोरीलाई बन्धक बनाइ चार दिनसम्म बलात्कार

दरमखोलामाथि रहेको उक्त झोलुङ्गे पुललाई विसं २००६ मा आएको बाढीले क्षति पु¥याएपछि त्यसबेला पनि पुनःनिर्माण गरिएको थियो। पछि विसं २०३५ मा पनि बाढीले आंशिक क्षति पु¥याएपछि बुटवलबाट लठ्ठा ल्याएर पुल बनाइएको वडाध्यक्ष मल्लले बताए। “विसं २०३५ पछि अहिले आएर पुनःनिर्माण गरियो”, उनले भने। जिल्लामा यो वर्ष ३१ झोलुङ्गे पुल निर्माणको चरणमा छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन्। तीनै तहका सरकारको लगानी र समन्वयमा झोलुङ्गे पुल निर्माणको काम हुन्छ। 

झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गत वर्ष गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१४ झोलुङ्गे पुल छन्। तीमध्ये जीर्ण भएका पुल हटाएर १९२ नयाँ बनाउनुपर्ने र ३० बृहत् मर्मत गर्नुपर्ने अवस्थामा छन्। यस्तै नौ पुराना पुल संरक्षण गर्नुपर्ने अवस्थामा छन्। सुरक्षित झोलुङ्गे पुल १५८ भन्दा बढी छन् भने २५ पुल प्रयोगविहीन छन्। बागलुङलाई ‘झोलुङ्गे पुलको जिल्ला’ भनेरसमेत चिनिन्छ।