‘मणिकर्णिका रिटर्न्‍स: द लिजेन्ड अफ दिद्दा’ बनाउँदै कंगना

एजेन्सी। अभिनेत्री कंगना रनावतले आफू निर्देशित तथा अभिनीत फिल्म ‘मणिकर्णिका: द क्वीन अफ झाँसी’ को सिक्वेल बनाउने भएकी छिन्। अब बनाउन लागिएकाे फिल्मको नाम भने ‘मणिकर्णिका रिटर्न्‍स: द लिजेन्ड अफ दिद्दा’ राखिएको छ।
कंगनाले यसकाे बारेमा ट्विटरमा लेखेकी छन्, ‘हाम्रो भारतमा झाँसीकी रानी जस्ता कैयौं वीरांगनाहरुको कहानी छ। यस्तै एक नसुनेको वीरगाथा हो कश्मीरकी एक रानीको, जसले महमूद गजनवीलाई दुई पटक हराइन्। कमल जैन र म मिलेर ‘मणिकर्णिका रिटर्न्‍स: द लिजेन्ड अफ दिद्दा’ लिएर आउँदैछौं।’
यसअघि कंगना र कमलबीच फिल्म ‘मणिकर्णिका’ मा सहकार्य भएको थियो।
कंगनाले गएको हप्ता जैनसँगको बसाइमा स्क्रिप्टलाई अन्तिम रुप दिएकी छिन्। दिद्दा कश्मीरकी रानी थिइन्, जसले महमूद गजनवीको युद्धमा दुईपटक हराएकी थिइन्। उनको एक खुट्टा पोलियोग्रस्त थियो तर उनी महान योद्धा थिइन्।
कंगनाले आफ्नो चलिरहेको प्रोजेक्ट पूरा गरेर जनवरी २०२२ मा ‘मणिकर्णिका रिटर्न्‍स’ को छायांकन सुरु गर्ने बताएकी छिन्।