मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन्।
आज विराटनगरमा मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारण सभाको उद्घाटन गर्दै कोइरालाले अदालतलाई देखाएर सभापति देउवाले संसद पुनर्स्थापनाको आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाएका हुन् ।
कोइरालाले देउवाको ढुलमु्ले चरित्रका कारण कांग्रेसले संसद पुनर्स्थापनाको आन्दोलनलाई अपेक्षाकृतरुपमा अघि बढाउन नसकिएको बताए।
‘संसद विघटनविरुद्धको आन्दोलनलाई हामीले सोचेझै सशक्त बनाउन सकेका छैनौँ,’उनले भने,‘ सभापति देउवाजीको ढुलमुले चरित्र आन्दोलनको बाधक बन्यो ।’
चौतर्फी दबाबपछि अब कांग्रेस संसद पुनर्स्थापनाको आन्दोलनमा होमिने वातावरण बनेको उनले बताए। कार्यक्रममा उनले सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै व्यक्तिगत स्वार्थमा लोभिएको पनि आरोप लगाए।