पीएम कप: एपीएफले प्रदेश-१ लाई १३५ रनले हरायो

काठमाडौं। एपीएफले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ लाई हराउँदै विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज प्रदेश-१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो।

प्रदेश-१ का मनिस थापाले १८ रन तथा फिर्दोस अन्सारीले १७ रन जोडे। दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए। यस्तै जोसाक खड्काले अविजित १२ रन बनाए।

बलिङतर्फ एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए ।

अन्य सम्बन्धित समाचार:  सहिद स्मारक बी डिभिजन लिगः आरसिटीको साँघुरो जीत

अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो।

जितसँगै समूह ए मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ।