काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाएका छन्।
पार्टीको काठमाडाैं महानगर समितिद्वारा आज आयोजित विरोध र्यालीमा नेता सिंहले यस्ताे आरोप लगाएका हुन्। विरोध र्याली शान्तिवाटिकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुुगेर सभामा परिणत भएको थियो।
सिंहले भने, “प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरीतमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन।”
न्यायपालिकाबाट उत्पन्न विवादका सम्बन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताउदै नेता सिंहले अगाडि भने, “हल्ला त अनेकाैं चलेका छन्, न्यायमूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुुग्नुुहुुनेछ, विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ।”
राजनीतिलाई सही मार्गमा हिँडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उनले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिँडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गरे।