कलाकार भट्टराईको निधन

काठमाडाैं। फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ। शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
उनी उक्त अस्पतालकै पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजरकाे रुपमा कार्यरत रहँदे आएका थिए। पुष पहिलो साता कोरोना संक्रमण पुष्टि भएको उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
दुई हप्ता अस्पतालको आइसोलेसनमा बसेपछि कोरोनामुक्त भएका भट्टराई त्यसपछि निमोनियाबाट ग्रसित भएका थिए।  उनले ‘हिजो आजका कुरा’ पछि केही नेवारी टेलिसिरियलसँगै ‘होकी क्या हो’ टेलिसिरियलमा पनि लामो समय काम गरेका थिए।
भट्टराईले ‘अज्ञाप्य प्रेम, आवारा’ लगायतका केही फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए। उनी अभिनीत अन्तिम फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा रहेकाे छ। उनले आफ्नै लगानीमा तीन वर्ष अगाडि फिल्म ‘भूईंमान्छे’ को समेत निर्माण गरेका थिए। ताप्लेजुङमा जन्मिएका भट्टराई २०५२ सालमा अध्ययनका लागि काठमाडौं छिरेका थिए। उनका श्रीमती र एक छोरा रहेका छन्।