प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते लगनगाँठो कस्दै

काठमाडाैं। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई आगामी माघ ११ गते विवाह बन्धनमा बाँधिँदै छन्। राईले  २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने बुझिएको छ।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। ज्याङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह हुन लागेको हाे।

पुर्खौली घर भोजपुर भएका मुख्यमन्त्री राई र संखुवासभा घर भएर हाल काठमाडौंमा बस्दै आएकी जाङ्मुबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने बताइएको छ।

को हुन् ज्याङ्मु शेर्पा?

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  लाइसेन्स छपाइको काम रोकियो

काे हुन शेरधन राई?

यता ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।