काठमाडौं । पाकिस्तानमा रहेको के टू हिमालको १० जना नेपाली आरोहीहरुको समूहले सफल आरोहण गरेको छ । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।
अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन । के टू हिमाल आरोहणमा नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ । आठ हजार छ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले बताए ।
के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक–फरक तीनवटा आरोहण दलबाट गएका हुन् ।