मलेसियामा एक सातामै ८ नेपाली श्रमिकको मृत्यु, आत्महत्या धेरै

क्वालालम्पुर । एक हप्ताको अवधिमा मलेसियामा कार्यरत ८ नेपालीको मृत्यु भएको छ ।  ५ जना नेपाली श्रमिकको आत्महत्या, एकजना सडक दुर्घटनामा, एकजना सुतेकै अवस्थामा मृत फेला परेका र एकजनाकाे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज जोहर राज्य समितिका अध्यक्ष राज बहादुर साउँदले नेपाली पत्रिकालाइ जानकारि दिए ।

साउँदका अनुसार मलेसियाको जोहोरबारुमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सल्यान जिल्ला निवासी नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ पङ्खामा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा काम गर्ने एक नेपालीले बताएका छन् ।

पेनाङ भन्ने ठाउँमा अबैधानिक हैसियतमा कार्यरत नेपाल ठेगाना पाँचथर जिल्ला निवासी यम कुमार खतिवडा पनि आफ्नै रुममा पङ्खामै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

केलाङ क्षेत्रमा सुरक्षागार्डमा कार्यरत नेपाल ठेगाना ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका निवासी बिरुलाल लिम्बू पनि जनवरी १२मा शौचालयमा झुन्डिएको अवस्थामा आत्महत्या गरेको फेला परेका छन् ।

मलेसियामै कार्यरत सर्लाहीको मझुरवाका मनोज राउत पनि रुमको पङ्खामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जनाएको छ । मृतक मनोज राउत अबैधानिक हैसियतमा मलेसियामा बसोबास गरिरहेका थिए ।

सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सुरक्षागार्डको रुपमा कार्यरत नुवाकोट निवासी चित्र बहादुर भट्ट को पनि मृत्यु भएको छ। मलेसियाको राजधानी नजिकै आम्पाङ क्षेत्रमा सुरक्षागार्डको रुपमा कार्यरत भट्टको कार्य क्षेत्रमै बस्याबस्यै अच्चानक मृत्यु भएको प्रत्यक्षदर्शी अर्का एक नेपालीले बताएको छ। हृदयघातको कारण भट्टको मृत्यु भएको हुन सक्ने आशँका गरिएको छ ।

मलेसियामै एक कम्पनीमा कार्यरत सोलुखुम्बु जिल्ला निवासी प्रेम बहादुर बिश्वकर्माको उपचारको क्रममा मृत्यु भएको छ । बिगत डेढ दुई महिनादेखि सिकिस्त बिरामी परेका प्रेम बहादुरलाई उनकै नेपाली साथीहरुले नै मिलेर थप उपचारको लागी क्वालालम्पुर अस्पतालमा भर्ना गरेका थिए, तर अस्पतालमै उपचारको क्रममा मृत्यु भएको एक नेपालीले बताएको छ।

जनवारी १६ मा मलेसियाको साहआलम सेक्सन यु १ मा बिगत ३ वर्षदेखि एक कम्पनीमा कार्यरत नेपाल ठेगाना अछाम जिल्ला घुघरकोट साँफे नगरपालिका १० निवासी कमल कुमार खड्काले आफ्नै रुममा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत् फेला परेको संगै एउटै कम्पनीमा काम गर्ने नेपाली श्रमिकले नै बताएको छ।

त्यस्तै मलेसियामाबाट नेपाल स्वदेश फर्किनको लागि तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा यहीँ मिति सन् २०२१र१२ तारिख, मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दुर्घटनामा परि एकजना नेपाली श्रमिकको मृत्यु भएको हो।
मृत्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली श्रमिक सतल सिंह मेचे हुन् ।