हुस्सुका कारण ३ दिनमा आन्तरिकतर्फ १ सय २ उडान रद्द

काठमाडौं। मौसम प्रतिकुलताका कारण पछिल्लो ३ दिनमा आन्तरिकतर्फ १ सयभन्दा बढी उडान रद्द भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार तराईका विमानस्थलमा हुस्सुका कारण माघ १ गतेदेखि ३ गते शनिबारसम्ममा आन्तरिकतर्फका मात्रै १ सय २ वटा उडान रद्द भएका हुन्।

आइतबार भने तराईका केही विमानस्थलमा बिहानदेखि नै उडान सुरु भएको छ। तर, पनि भरतपुर, भद्रपुर र जनकपुरमा भने अहिलेसम्म पनि बाक्लो हुस्सुको कारण उडान हुन सकेको छैन।

आइतबार पोखरा, विराटनगर, नेपालगञ्ज र भैरहवामा भने बिहान ८ बजेबाट उडान भएको विमानस्थलले जानकारी दिएको छ। मौसम प्रतिकुलताका कारण उडान डिले तथा रद्द हुँदा आन्तरिक विमानस्थलको टर्मिनमा यात्रुको भीडसमेत बढेको छ।

अन्य सम्बन्धित समाचार:  पहाडी भेगको मौसममा आंशिकदेखि सामान्य बदली

विमानस्थलका अनुसार माघ १ गते विहीबारमा लागि आन्तरिकतर्फ ८७ वटा उडान तय भएका थिए। जसमा १५ वटा उडान रद्द हुँदा ७२ वटामात्रै उडान भएको थियो। यसैगरी माघ २ गते शुक्रबार भने ५० प्रतिशत उडान नै रद्द भएका थिए।

शुक्रबार पनि ८७ वटा उडानका लागि तालिका तय भएको थियो। तर, मौसम प्रतिकुलताका कारण ४४ वटामात्रै उडान भएको विमानस्थलले जनाएको छ। शुक्रबार ४३ वटा उडान रद्द भएको थियो।

यसैगरी, शनिबार माघ ३ गते पनि ५० प्रतिशतमात्रै उडान भएको छ। शनिबारका लागि ८९ वटा उडान तय भएपनि मौसमका कारण ४५ वटामात्रै उडान भएको थियो। शनिबार पनि ४४ वटा उडान रद्द भएको छ।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

अधिकांश रद्द भएका उडान तराई क्षेत्रका विमानस्थलका लागि तय भएको उडान रहेको विमानस्थलको भनाइ छ।