काठमाडौं। कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको संक्रमणबाट मृत्यु भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको छ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।