जोखिम भत्ता नपाएको भन्दै चिकित्सक आन्दोलित

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेजिडेन्ट चिकित्सकहरु आन्दोलित बनेका छन्। कोरोना उपचारमा खटिएपनि जोखिम भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।

पटक पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेपनि कुनै सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको जुनियर रेजिडेन्ट वेलफियर सोसाइटीका उपाध्यक्ष डा पदम नेपालीले बताए।आन्दोलन स्वरुप माघ १ गतेदेखि कोभिडको ड्युटी बहिष्कार गरेको नेपालीले बताए।

गएको नौ महिनादेखि जोखिम भत्ताको माग गरेको सोसाइटीले जनाएको छ। माघको पहिलो साता कोभिडको ड्युटी बहिष्कार गर्ने र उक्त अवधिसम्म पनि माग सम्बोधन नभए आन्दोलनका अन्य कार्यक्रम गर्न बाध्य हुने डा नेपालीले बताए। प्रतिष्ठानमा हाल ३ सय जना जुनियर रेजिडेन्ट चिकित्सक छन् ।