धम्क्याउँदै रकम असुली गर्न खोजेको अभियोगमा तीन जना पक्राउ

 

काठमाडौं। धम्क्याउँदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौंको बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका-८ घर भएका १९ वर्षीय सुरज भण्डारी र काठमाडौं काडाँघारी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका २१ वर्षीय किरण कार्की रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग गरी उक्त रकम नदिए क्षति पुर्‍याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  मेलम्चीको पानी काठमाडौं उपत्यकामा झर्दै

उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाइल तथा सिमहरु समेत प्रहरीले बरामद गरेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।