कास्की। एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको भन्दै कास्कीमा रहेको एक विद्यालयका तीन शिक्षक पक्राउ परेका छन्।
परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून विपरीतको कसूरजन्य कार्य गरेको आरोपमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका-१ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका-४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका-११ फुलबारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका-२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका प्रहरीले जनाएको छ।
उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून विपरीतको कसूरजन्य कार्य समेत भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही हुने भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।