धनुषाका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालित

बटुकनाथ झा, धनुषा। जनकपुरधाम सहित धनुषा जिल्लाको अधिकांश स्थानमा रहेको मासु पसल  मापदण्ड विपरित सञ्चालित रहेको छ। पशु वधशाला र मासु जाँच नियमावली अनुसार जनकपुरधाममा  एउटा पनि  पसल सञ्चालनमा रहेका छैनन्। अनुगमनका क्रममा  अधिकांश मासु पसल नियम विपरित सञ्चालनमा  रहेको पाइएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको जनकपुरधाम, महेन्द्रनगर तथा ढल्केबरको माछा, मासु, डेरी तथा भेट फर्मा पसलको अनुगमन गरेर अखाद्य पदार्थ र सडेको मासु नियन्त्रणमा लिएर नष्ट गरेको छ।

अहिले भारतको विभिन्न स्थानमा बर्डफ्लुको खतरा बढेको बेलामा  खुल्ला सिमानाका कारण  जनकपुरधाममा समेत भारतीय कुखुरा तथा खसी  आएरहेको बेलामा  अव्यवस्थित  मासु पसल सञ्चालन भएकाले थप खतरा बढेको भेटनरी अस्पताल तथा  पशु सेवा विज्ञ केन्द्र जनकपुरधामका पशु विकार अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिए। उनले अनुगमनका क्रममा मापदण्ड विपरित मासु पसलहरू सञ्चालनमा रहेको पाइएको बताए।

अनुगमनका क्रममा रहेको अधिकांश पसलका सञ्चालकहरूले  नियमित रुपमा  मापदण्ड अनुसार सफाइ नगर्दा गुणस्तरहीन मासु खान  उपभोक्ता बाध्य भएका छन्। यता, जनकपुरधामका  मासु बिक्रेताहरूले  पनि  उपमहानगरपालिका लगायतका पक्षले नियमित अनुगमन नगर्दा जताततै मासु बेच्न बाध्य भएकाे बताए। 

यस सम्बन्धमा तालिम प्रदान भएपनि  पशु वधशालाको  अभावमा  तालिम पाएर पनि  अव्यवस्थित तरिकाले  मासु बेच्न आफूहरू बाध्य भएको  मासु व्यवसायी मो. साहेबले बताए।

जनकपुरधाममा  अहिले  खसीको मासु प्रति किलो एक हजारको दरले बिक्री भइरहेपनि जनचेतनाको अभावमा उपभोक्ताले पैसा खर्चिएपनि गुणस्तरीय युक्त मासु  खानबाट बञ्चित भएका छन्। पसलको सरसफाइ, फोहरको व्यवस्थापन, व्यवस्थित बिक्री नभए, पशुपक्षी बध गर्ने स्थल ठिक नभएको, बध गर्ने औजार सफा नभएको, मासु  बिक्री गर्ने काउन्टर पनि ठीक नभएकोले सुधार गर्नका लागि निर्देशन दिदै अर्को पटक सुधार नभएको पाइएको खण्डमा कारवाही प्रक्रिया अगाडि बढाउने निर्देशन सहितको चेतावनी दिएको पशु विकार अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिए। 

कतिपय मासु पसलका सञ्चालकले मासुलाई भण्डारण गर्नका लागि डिप फ्रिज नराखेका पाइएकाले डिप फ्रिज राख्नका लागि निर्देशन दिदै बिक्रीका लागि अनुमति पत्र जनकपुरधाम उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट लिनका लागि निर्देशन दिइएको छ।

जनकपुरधाममा  नियमित रुपमा अनुगमन नहुँदा ।माछा, मास, दुधे, फलफुल, लगायतका खानेकुराहरू खाद्य ऐेन विपरित  बिक्री भइरहेको पाइएको छ। 

अन्य सम्बन्धित समाचार:  बाल विवाह गरेको भन्दै बेहुला र उनका बुवा पक्राउ