Skip to content

मलेशियाका विभिन्न अस्पतालमा नेपाली कामदारका ३५ शव

काठमाडाैं। कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्। ती शवहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। यसअनुसार १८ वटा शव यसै साता ल्याईने बोर्ड जनाईएकाे छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ। अधिकारीहरूका अनुसार अहिले मलेशियामा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्यालगायतले मारिएका कामदारहरुकाे शव रहेकाे बताईएकाे छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको भने शव नेपाल नल्याई उतै अन्तिम संस्कार गर्ने गरिएको श्रेष्ठले बताए। बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको थियो। त्यसमध्ये एकजना महिला थिइन् भने अरू सबै पुरुष थिए।

गत वर्ष विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ। मलेशियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू रहेको जनाईएकाे छ।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020