राष्ट्रिय महिला लिग फुटबल: पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच बराबरी

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्। विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

खेलको चौंथो मिनेटमा आर्मीकी विमला चौधरीले डिबक्स बाहिरबाट प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले मुस्किलले बचाईन्। ३१ मिनेटमा पुलिसकी निरु थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो।

यस्तै खेलको ४४ औं मिनेटमा रश्मी घिसिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन्। उनको प्रहार पुलिसकी गोलकिपर सपनाले उत्कृष्ट बचाउ गरिन्। खेलको ८६ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको अवसर गुमाईन। काउन्टर अट्याकमा पाएको बलमा रेखाले डिबक्सभित्रबाट फितलो प्रहार गरिन्।

अन्य सम्बन्धित समाचार:  सन्दीपले पीएसएल खेल्ने

खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बनिन्। पुलिसको लागि पुजाको डेब्यु खेल हो। यस्तै रेखा पौडेल र गोलकिपर सपना राईले पनि पुलिसबाट डेब्यु गरेकी छिन्। बराबरीसंगै आर्मी र पुलिसले १/१ अंक प्राप्त गरेको छ।