‘हामी रातो झण्डा फहराउने हौं, कालो झण्डा बोक्ने होइनौं’- प्रधानमन्त्री ओली

सांसद्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको उल्लेख गरेका छन्। बिहीबार आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं। रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं। सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, उनले भने।

पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध प्रचण्ड-माधव समूहले उडाएकाे कालाे बेलुनप्रति व्यंग्य गर्दै उनले थपे, ‘मलाई दन्तबजान गर्नु छैन। उहाँहरुले कालो झण्डा गाडेर बस्नुभएको छ, काला बेलुन उडाउनु भएको छ, कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ। केही भन्नु छैन’, ओलीले भने।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री पदबाट ओलीले तुरून्त राजीनामा दिनपर्ने बामदेवको माग

प्रचण्ड र माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर सिनेमा देखाइरहेको ओलीकाे टिप्पणी थियाे। ‘सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छ। लभ परेको हुन्छ धुमधाम । हिरोइनी घाइते हुन्छ, हिरो ब्याकुल हुन्छ। रुन्छ। वास्तवमा केही पनि होइन,’ ओलीले थपे, ‘सबै तमासा हो।

केही मान्छेहरु सिनेमा देखाउन, नाटक देखाउन आउँछन्। रुन्छन्, झुक्याउँछन् जनतालाई। हामीले त्यस्ता तत्वहरुबाट सजग गराउनुपर्छ।’