शुक्रबारको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने प्रचण्ड–नेपाल समूहको दावी

नेकपा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार हुने प्रदर्शन शान्तिपुर्ण र मर्यादित हुने बताएको छ। संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको हो।

समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ। स्थानीय रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ। साथै प्रदर्शनमा सहभागी हुन सबैलाई अपील समेत गरेको छ।

समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  अदालतको फैसला मान्छौँ : प्रधानमन्त्री ओली

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले गर्नेछन्।

यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ।

यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।