काठमाडाैं। चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क अनुसार रु ६ खर्ब ६१ अर्ब २४ करोडभन्दा बढीको विदेशी वस्तुको आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा रु छ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।
यसैगरी, ६ महिनाको अवधिमा रु साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। गत आवमा सोही अवधिमा रु ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो।
तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ। वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ। हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ। विभागको तथ्याङ्क अनुसार ६ महिनामा रु सात खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु छ अर्ब ४६ करोड घाटा बेहोरेको छ।
अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो। चालु आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र रु एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ। हालसम्म विभागले रु एक खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ। यो वर्ष विभागले रु चार खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब ४ करोड र असोज महिनामा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो।
यसैगरी, कात्तिक महिनामा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड र पुस महिनामा सबैभन्दा धेरै रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ। ६ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ। ६ महिनामा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ।