तनहुँ। व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा रु चारमा नै खाँदै आएका छन्। ‘हम हाउस’ नामक एक जापनिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक रु २५ हजार सहयोग गर्दै आएको छ।
दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक रु चार पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए। उक्त संस्थाले गत भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ। प्रधानाध्यापक पाण्डेले भने, “खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ।”
बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका उक्त संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ। विद्यार्थीलाई संस्कृति सिकाइँदै व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयले नेपाली पराम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालेको छ।
उक्त विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्नेलगायतका सीप सिकाउन थालेको हो। विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँपुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक शिक्षा प्रदान गरिएको शिक्षक लोकराज सेढाईंले बताए।
संस्कृति र परम्परा लोप हुदैँ जान थालेको अवस्थामा त्यसको संरक्षणका लागि विद्यार्थीलाई यस्ता सीपमूलक तालिम प्रदान गर्ने गरिएको उनले जानकारी दिए। सरकारको नमूना विद्यालयका रुपमा निर्मल माविले इन्टरनेशनल स्कुल अर्वाडसमेत प्राप्त गर्न सफल भएको छ। अवार्ड प्राप्त कार्यक्रमअन्तर्गत विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत संस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले बताए।
ब्रिट्रिस काउन्सिल लाइबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकाले विभिन्न सात आयोजनाको काम भइरहेको उनले बताए।