बक्याैता रकम नपाएको भन्दै उखु किसानद्वारा आन्दाेलनको घोषणा

काठमाडाैं। सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन्।

उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन्। त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ।

चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि काठमाण्डौ आएर आन्दोलन गरेका किसानहरू सरकारले २१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता गरेपछि फर्किएका थिए। तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन गर्नुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको रायले बताए। कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको किसानको भनाइ छ।