आईपीएलले मलाई धेरै दिएको छ: सन्दीप

काठमाडौं। सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सप्रति आभार व्यक्त गरेका छन्। उनले बिहीबार आईपीएल क्रिकेटमा ब्रेक दिएको भन्दै सामाजिक सञ्जालमार्फत् दिल्लीप्रति आभार प्रकट गरेका हुन्।

दिल्लीले सन्दीपलाई बुधबार मात्रै रिलिज गरेको थियो। दिल्लीले रिलिज गरेसँगै सन्दीप अब मेगा अक्सनमा सामेल हुनेछन्।

इण्डियन प्रिमियर लिगले मलाई धेरै दिएको छ। विशेषगरी दिल्ली क्यापिटल्सले म माथि भरोसा गर्यो र मलाई मौका दियो,’ सन्दीपले लेखेका छन्, ‘म दिल्ली परिवारप्रति आभारी छु। विशेष हेमन्त दुवा सरले मलाई लिनुभयो।’

युएईमा सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई दिल्लीले सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा खरिद गरेको थियो। त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  भारत र इंग्ल्याण्डको तेस्रो टेस्ट क्रिकेट आजदेखि

आईपीएल खेलेसँगै सन्दीपले विश्व क्रिकेटमा तहल्का मच्चाएका थिए। उनले विश्वका ठुला क्रिकेट लिग खेलिसकेका छन्। सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए। यस्तै दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए।