काठमाडौं। भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको जग्गा प्राप्तिका लागि स्थानीय तहमा निवेदन बुझाउन आग्रह गरेको छ। आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो।
आयोगले फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न भनेको छ। जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ।
आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ।