एजेन्सी। भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५३ हजार ३२ पुगेको छ। यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ।
विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५४५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४२८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ।
हाल भारतमा एक लाख ८८ हजार ६८८ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २२७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ। भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७७२ को मृत्यु भइसकेको छ।