अस्ट्रेलियाबाट सर्च इञ्जिन हटाउने गुगलको धम्की

अस्ट्रेलिया

एजेन्सी। गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने धम्की दिएको छ। अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन अस्ट्रेलियाबाट हटाउने धम्की दिएको बीबीसीले जनाएको छ।

गुगलको यस्तो धम्की अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रयोग गरेबापत रोयल्टी दिन गुगल र फेसबुकलाई चाँडै नयाँ आचारसंहिता ल्याउन लागेपछि आएको हो। बीबीसीका अनुसार गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रूपमा लागू गरेमा आफूहरूले अस्ट्रेलिया छाड्नुपर्ने बताएका छन्।

ठूला कम्पनीहरूले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरूले अस्ट्रेलियाको सञ्चारमाध्यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

गएको महिना अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरी भुक्तानीको आचारसंहिता लागू गर्ने जानकारी दिएका थिए। त्यसलगत्तै फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू शेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो।