पीएम कप: वाग्मतीको तेस्रो जित, पृथुको अर्धशतक

पीएम कप

काठमाडौं। पीएम कपमा वाग्मती प्रदेशले लगातार तेस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा आज प्रदेश-२ लाई ६ विकेटले पराजित गर्दै वाग्मतीले लगातार तेस्रो जित निकालेको हो।

प्रदेश-२ ले दिएको १ सय ८० रनको लक्ष्य वाग्मतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। वाग्मतीको जितमा पृथु बास्कोटाले ७५ बलमा अविजित ५३ रन बनाए। यस बाहेक बिभत्सु थापाले ४७ र आकाश थापाले ३२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे।

बलिङतर्फ प्रदेश-२ का हरिशंकर शाहले २ तथा विशाल सुसलिङ र कुमार थापाले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो। प्रदेश-२ का लागि विवेक यादवले ६६, कुमार थापाले २२ तथा राहुल प्रताप सिंहले १८ रन बनाए। सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन जोडे।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः मध्यपुर युथ विजयी

बलिङतर्फ वाग्मतीका गौतम केसीले ४, रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १-१ विकेट लिए।

जितसंगै वाग्मतीले ३ खेलमा ६ अंक जोडेको छ।