सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’ उपचार

 

काठमाडाैं। अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च खर्च भयो। खर्च अभावमा उनको उपचारमा निकै धौधौ भयोे। हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उनको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ।

केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठूलो खर्च गरेर उपचार गरिए पनि मानवसेवा आश्रमले बचाउन सकेन। अझ कोभिड-१९ सङ्क्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा परेको समस्या त्यहाँका अभियानकर्मीमा तीतो यथार्थ बनेर गढेको छ।

सहयोगी हातको कमी भइरहेको वर्तमान सन्दर्भमा औषधोपचारमा समस्या कायमै रहँदा सशस्त्र प्रहरी बल नेपालबाट आएको एउटा सन्देशले आश्रम परिवारमा खुसीको बहार छाएको छ।

अन्य सम्बन्धित समाचार:  मानव ओसारपसार र करणीको मुद्दामा महिलाई ११ वर्ष जेल

आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्ताैला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गरे।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार बेसहारालाई निशुल्क उपचारको घोषणा गरेका छन्। “अबदेखि मानवसेवा आश्रममार्फत खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिनेछ”, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उनले भने।

यसअघि नै नेपाल सरकारले ‘कोही नेपाली असहाय हुन नपरोस्, उपचारबाट वञ्चित हुन नपरोस्’ भनेर आवश्यक काम गर्दै आएको छ। मानवसेवा आश्रमसँग सहकार्य गर्दै विसं २०७८ भित्रमा बेसहारा सडक मानवमुक्त देश बनाउने सरकारको योजना रहेको सन्दर्भ कोट्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्य अन्तरगत उक्त घोषणा गरिएको स्पष्ट पारे।

अन्य सम्बन्धित समाचार:  भोली देशभरका सबै अदालतमा बिदा