मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव ल्याइयो

मलेसिया

काठमाडौं। रोजगारीका क्रममा विभिन्न समयमा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव आज बिहान काठमाडौं ल्याइएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले मलेसियाबाट बिहान करिब पौने नौ बजे शव ल्याइपुर्‍याएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए।

यसरी ल्याइएका शव विमानस्थलबाटै सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे मलेशियाको क्वालालम्पुर उडेको थियो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपालीको विभिन्न कारणले मृत्यु भएर उनीहरूको शव त्यहीँ अलपत्र थियो।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको  हो।

 

अन्य सम्बन्धित समाचार:  नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु