पीएम कप: लुम्बिनीसँग पराजित हुँदै बाहिरियो सुदूरपश्चिम

पीएम कप

काठमाडौं। पीएम कप अन्तर्गत आज भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। आज मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो।

लुम्बिनीसँग पराजित भएसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।

सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोडे।

प्रकाश केसीले १७ तथा कप्तान कृष्ण कार्कीले १५ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ तथा विनोद लामाले एक विकेट लिए। जितसँगै समूह ‘बी’ को लुम्बिनी ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगः लिभरपुललाई हराउँदै चेल्सी चौथो स्थानमा

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन तथा कप्तान सन्तोष भट्टले ११ रन जोडे।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले ४, निल खरेल र बिक्रम भुसालले २-२ विकेट लिए।