भोलिसम्म प्रदेशका जिल्ला अस्पतालमा ‘कोभिशिल्ड’ खोप पुग्ने

काठमाडाैं। कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

भारतबाट ल्याएपछि स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ। आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ।

गाैतमले पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने बताउँदै सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली

खाेप स्वास्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप  अनुदानमा उपलब्ध गराएको छ। माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतको तमिलनाडुमा जारी लकडाउन ३१ मार्चसम्म थप

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ। पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ।