एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन्।
पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बेला प्रधानमन्त्री जोनसनले यस्ताे बताएका हुन्।
‘यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ, त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ’, उनले शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा भने। जाेन्सनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंग्ल्याण्डको केन्टमा देखिएको बताएका थिए।
उनले सो पत्रकार सम्मेलनमा नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको बताए।
पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो। बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन्। उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण भेटिएको बताएका छन्।
उनका अनुसार कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ। पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ। यसै कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ।
तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ। युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ।
प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका बताए। उनले यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको उल्लेख पनि गरे। यस बाहेक उनले बेलायतमा कोरोनाको पहिलो वेभ आएको बेलाभन्दा यस पटकको यो नयाँ सक्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको जानकारी समेत दिए।