काठमाडौं। एपीएफ क्लब पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४ तथा अभिषेक ठकुरी र राज शाहले समान १२ रन बनाए।
सम्बन्धित समाचार
पीएम कप: लुम्बिनीसँग पराजित हुँदै बाहिरियो सुदूरपश्चिम
पीएम कप : आज पनि २ खेल
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो। एपीएफका लागि सन्दिप जोराले ६०, अमरसिंह राउटेलाले ३१, सुबास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले समान १५ रन बनाए।
बलिङतर्फ कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३-३ तथा दिवन पुन र राज शाहले समान २ विकेट लिए।
पराजित कर्णाली समूह चरणबाटै बाहिरिएको छ। यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन्। तीनवटै टिमले समूहमा समान १ खेलमा जित र ३ खेलमा हार ब्यहाेरेका थिए।