रुसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौँ पक्राउ

काठमाडौं रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ।

रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको जनाइएको छ।

गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन्। नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको जनाइएको छ।

नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू पक्राउ परेका प्रदर्शनकारी समूहले जानकारी दिए। रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिनापहिले रुसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउने क्रममा अकस्मात् बिरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो।

पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उनलाई गत अगस्टमा बर्लिन लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको जर्मन ल्याबहरूले दाबी गरेका छन्।

करिब पाँच महिनाको जर्मनी बसाइ र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत गत हप्ता रुसी राजधानी मस्को फिर्ता भएका थिए। ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रणकक्षबाट प्रहरीले हिरासतमा लिएको हो।

अन्य सम्बन्धित समाचार:  अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राखेको आतङ्कवादी संगठनको स्विकारोक्ति