कोरोनाविरुद्धको खोप सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइँदै

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ।

त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ।

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ। काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो।