प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बहस जारी

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ। प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको भनी परेका १३ रिट निवेदनमाथि निरन्तर सुनुवाइ जारी छ। सर्वोच्चको संवैधानिक इजलासमा आज पनि रिट निवेदकका तर्फबाट नै कानून व्यवसायीहरूले बहस गर्दै छन्।

यसअघि शुक्रबार पनि रिट निवेदकका तर्फबाट बहस भएको थियो। बहस नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो। शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईं, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसादलगायतले रिट निवेदकहरूका तर्फबाट बहस गरेका थिए। आइतबारको सुनुवाइमा पनि रिट निवेदकहरूकै वकिलले बहस गर्नेछन्।

उक्त मुद्दामा दर्ता भएका १३ वटा रिटमध्ये शुक्रबारसम्म ५ वटा रिट निवेदनको सुनुवाइ सकिएको छ। अहिले सम्मका बहसमा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन पूर्णतः असंवैधानिक कदम भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने र संसद पुनस्र्थापित हुनुपर्ने तर्क गरेका छन्। साथै बहस प्रधानमन्त्रीको विशेषाधिकारमा समेत केन्द्रित भएको थियो, जसअनुसार संसद विघटनको अधिकार नेपालको संविधानले प्रधानमन्त्रीलाइ नदिएको तर्क उनीहरूले गरेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्।