एमबीबीएसको शुल्क वृद्धि कुनै हालतमा स्वीकार्य छैन: डा. केसी

काठमाडौं। डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन सिफारिस गरेकोप्रति आपत्ति जनाएको छन्।

आइतबार एक प्रेस विज्ञप्ति जारी गरी डा. केसीले कोरोना महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय भएको उल्लेख गरेका हुन्। ‘कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।’

चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामूलक हुनुपर्ने भएकाले शुल्क बढाउनुको सट्टा कम गर्दै लैजानु पर्ने डा. केसीको भनाइ छ। शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुलाई केसीले ध्यानाकर्षण समेत गराएका छन्।

अन्य सम्बन्धित समाचार:  रेल सञ्चालन झनै अनिश्चित

आफूसँग सम्झौता भएबमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि केसीले माग गरेका छन्।

आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शैक्षिकसत्र २०७७–०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख रुपैयाँ शुल्क बढाउनु पर्ने प्रस्ताव आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई गरेको थियो।