राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने कर तथा राजस्व अब मोबाइल बैकिङ्गबाटै

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब मोबाइल बैंकिङ्गबाटै हुने भएको छ। बैंकले नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागि नेपाल क्लियरिङ हाउस एनसिएचएल तथा आइएमई डिजिटल सोलुसन लिमिटेडसँग त्रिपक्षीय सम्झौता गरेको हो।

यसअनुसार सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरूलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताएका छन्। 

यस्तै, आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए। 

महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पिएसपीहरु मार्फत पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो। 

अन्य सम्बन्धित समाचार:  अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न