नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाइँदै

नागरिक

काठमाडा‌ैं। हालै सरकारले सार्वजनिक गरेको नागरिक एप चलाउँदा मोबाइल डाटामा कुनै शुल्क नलाग्ने व्यवस्था हुँदैछ। सो एप चलाउँदा हाल विभिन्न मोबाइल कम्पनीका डाटाबाट शुल्क काटिने गरेको भए पनि सरकारले अब नि:शुल्क रुपमा एप चलाउन सकिने बनाउन लागेको हो।

यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमनकारी निकायलाई निर्देशन दिँदै सो एप कुनैपनि मोबाइल सेवा प्रदायकको नेटवर्कबाट प्रयोग गर्दा डाटा नि:शुल्क हुने बनाउन निर्देशन दिएको छ। मन्त्रालयले केही दिनअघि नागरिक एप चलाउँदा कुनै शुल्क नकाटिने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

यसैगरी मन्त्रालयले नेपाल टेलिकमलाई समेत त्यसको लागि व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले केही दिनअघि नै नागरिक एप प्रयोग गर्दा डाटा रकम नकाटिने बनाउन सकिने बारेमा नियमनकारी निकायलाई निर्देशन दिएको बताए। ‘सरकारले ल्याएको नागरिक एपलाई सबैले प्रयोग गरुन् र पेपरलेस गभर्नमेन्टको अवधारणालाई अगाडि बढाउन सजिलो बनाउनका लागि निर्देशन दिइएको हो,’ सचिव बस्यालले भने।

अन्य सम्बन्धित समाचार:  बिबिसी मास्टर सेफ उपविजेता साहको पाँच भाषामा पुस्तक प्रकाशन हुँदै

उनले नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई आवश्यक निर्देशन दिएर सहजीकरण गर्ने र भविश्यमा नागरिक एप चलाउँदा कुनै रकम नकाटिने बताए।

यसबारेमा नेपाल दूरसञ्चार प्राधिकरणले भने कुनै पत्र मन्त्रालयबाट नआइसकेको जानकारी दिएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सो पत्र हालसम्म नआएको र कस्तो निर्देशन छ भन्ने पत्र आएपछि मात्र सो बारेमा थाहा हुने बताए।