प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग

काठमाडौं। नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्। बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको भन्दै अदालतको अवहेलना जन्य कार्य गरे बापत प्रधानमन्त्रीलाई जवाफदेही बनाउन माग गरेका हुन्।

“प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिलले पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ? भन्ने अभिव्यक्ति, वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानुन व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ?, के गर्छन् ति वकिलले भनी सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ । प्रमको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।” विज्ञप्तिमा भनिएको छ।

जारी विज्ञप्तिमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतका जीवित इतिहास भएको उल्लेख छ। “पञ्चायतकालमा स्व। बीपी कोइराला, रामराजाप्रसाद सिंह र स्वयम् प्रधानमन्त्रीलाई झापा आन्दोलनको क्रममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्ट साध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य बचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर रहेको छ।”

संसद् पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेका थिए।

 

अन्य सम्बन्धित समाचार:  नेकपा कसको?: नामको विवादमा फैसला मिति सर्‍यो