प्रतिनिधिसभा विघटनको विरोध गर्ने देश विरोधी हुनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन्। आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक कदम भन्नेहरु नै संविधान विरोधी भएको बताएका हुन्।

उनले आफूले देशमा स्थिरता कायम गर्न प्रतिनिधिसभा भंग गरेर जनतामा जाने निर्णय गरेको बताए। उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्नेहरु पनि छन्। अलोकतान्त्रिक कदम भनेर कराउने मान्छे नै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन्।’

ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको बताए। ‘मैले जनतामा जाउँ भनेको हुँ । मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु। जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन।’

अन्य सम्बन्धित समाचार:  प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको बताएका छन्। उनले जनताको समस्या पहिचान गरी सरकारले समाधान गर्ने बताए।