एक गाग्री पानीको लागि सास्ती खेप्दै देवल दिव्यपुरका स्थानीय

भावना पाैडेल,डडेल्धुरा।

देवल दिव्यपुर गालका ईश्वरी रावतको दुखेसो आजको हैन। वर्षाैदेखि उनले एक गाग्री पानीको लागि ठुलै सास्ती खेप्न परेकाे छ। उनले भनिन्, “पानी खोज्न जाँदा बालबच्चालाई स्कुल पठाउन हम्मेहम्मे हुन्छ।”

गाउँमा खानेपानीको धाराहरू कम हुँदा स्थानीयले पाएको दुख भनिसाध्य छैन्। डडेल्धुराको अजयमेरु गाउँपालिका ५ मा पर्छ देवल दिव्यपुर गाल।

बिहान उठ्ने बित्तिकै  भएभरका काम छोडेर पानी खोज्न हिँड्नुपर्ने स्थानीयकाे नियति जनप्रतिनिधिका आँखाले नदेख्या जस्तै भएको छ।

स्थानीय गणेश खड्का र ईश्वरी रावतले पानीकै लागि झण्डै दुई घण्टा लाइनमा बस्नु पर्ने सुनाए। उनीहरूले भने, “गाउँमा १२० परिवारले ३ ओटा धाराको पानी खाँदै आएका छौं, पानी बिहान १ पटक मात्र आउने गर्दछ। त्यही पानीकै कारण घरमा बालबालिकाको पढाइ पनि प्रभावित हुने गरेको छ।” 

खानेपानीकै लागि निकै समस्या झेल्दै आएका स्थानीयलाई सरसफाइका लागि झन मुस्किल छ।

पानी लिएर घर आउँदा बालबच्चा लड्ने गरेकाे पनि स्थानीयले सुनाए।

उता वडाअध्यक्ष भोजबहादुर पालले भने अब गाउँमा खानेपानीको समस्या हट्ने बताएका छन्।  उनले भने, “वडाले एक घर एक धाराको अवधारणा अनुसार संघीय सरकारको अनुदानबाट गाउँमा सुर्नया लिफ्ट खानेपानी सम्पन्न गर्ने योजना बनाएको छ।”

विकासकाे सपना देखाएर जनप्रतिनिधि भएकाहरुले ससाना समस्या बेलैमा सम्बाेधन गर्न सकेकाे खण्डमा जनताकाे दैनिकी सहज हुने थियाे कि?

अन्य सम्बन्धित समाचार:  भागरथी बलात्कारपछि हत्या प्रकरणः आरोपीलाई ५ दिन म्याद थप

 तस्वीर: नेपाली पत्रिका