राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबकाे पहिलो जित

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो जित निकालेको छ। आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजीत गरेकाे हाे।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे खेलमा आर्मीले वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा नै गर्‍यो। आर्मीकी बिमला चौधरीले ह्याट्रिक गोल गरिन् भने दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजंगा राईले थप गोल गरे।

पहिलो हाफसम्म तीन गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकाल्न सफल भएकाे हाे।

खेलको १५औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् भने त्यसकाे १३ मिनेटपछि  दीपाले गोल गरेसँगै आर्मीले दोब्बर अग्रता बनायो। ४४औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाइन्।

अन्य सम्बन्धित समाचार:  फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरी छापा, ४ पक्राउ

६६औं र ७५औं मिनेटमा बिमलाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनको ह्याट्रिक गोलसँगै आर्मीले ५–० गोलको अग्रता बनायो। खेलको ६८ औं मिनेटमा सपना लामाको स्थानमा मैदान छिरेकी हेमाले ८९औं मिनेटमा गोल गरेसँगै आर्मीले ६–० गोलको अग्रता बनाएको थियो। खेलको अतिरिक्त समयमा भुजंगाले गोल गरेपछि आर्मीले वालिङ नगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो।