पानी चाहियो भन्दै अमरगढी नगरपालिका कार्यालय घेराउ

डडेल्धुरा। खानेपानीको माग गर्दै डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिका आइतबार घेराउ गरिएको छ। अमरगढी नगरपालिकाको वडा नम्बर ८ का स्थानीयल खानेपानीको माग गर्दै आन्दोलित भएका हुन्।

सदरमुकामसँगै जोडिएका खनमडा, टाँटर, डकले बजार, तोली सिंलगा, रातागौंन र लटाउली लगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै सयौँको सङ्ख्यामा आएका स्थानीयले पटक पटक खानेपानी योजना माग गर्दा पनि नगरपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरेका छन्।

‘अमरगढी नगरपालिकाको दमकल कतिखेर आउला र खानेपानी भरौला भनेर दिनभर कुर्नुपर्ने अवस्था छ,’ स्थानीय महिला नेतृ बिस्ना गैरालले भनिन, ‘सदरमुकामसँगै जोडिएका तीन सय भन्दा बढि घरधुरी खानेपानी अभावमा काकाकुल छौ, तर खानेपानी समस्या समाधानका लागि तीनओटै तहका सरकारले माग सम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिएका हौं।’

नगरपालिका कार्यालय घेराउपछि आन्दोलनकारीहरूले सातदिन भित्र माग सम्बोधनका लागि अल्टिमेटम दिदैँ अमरगढी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको अमरगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भागरथी हत्याका आरोपितको तेस्रोपटक म्याद थप